एलिसा लक्का जवान थिइन्, २३ वर्षिया । प्रेमलाई उमेरको कहाँ छेक्छ र ? देखादेख भएको केही दिनमै उन्नाइस वर्षका रेशमले आफूभन्दा दुई–चार वर्ष जेठी एलिसालाई आँखामा सजाउन थालिसकेका थिए । एलिसाले नारायणथानमा कोठा लिएकी थिइन्, दिदीबहिनीसँगै बस्थे । मुक्तिनाथ पानीको जार डेलिभरी गर्ने गाडीको सहयोगीको रूपमा काम गर्थे, फ्याक्ट्रीमै बस्थे ।
जागिरमा जोडिएको केही दिनमै मुक्तिनाथले एकान्त पारेर भने, ‘आई लभ यु’ एलिसा !’
एलिसाले कुनै जवाफ दिइनन्, तर मुक्तिनाथले बुझे, ‘उनी पोजेटिभ भइसकिन् ।’
प्रेमिकालाई खुसी बनाउन मुक्तिनाथ बेला–बेला पैसा दिन्थे । पछि उनले दिएको पैसाको ग्राफ बढेर ५५ हजारबाट उकालो लागिसकेको थियो । पछि त्यही ५५ हजार एलिसा हत्याको धेरै कारणमध्ये एउटा कारण बन्न पुग्यो ।
‘केटाको पृष्ठभूमि आपराधिक खालको देखिन्छ’ घटनाको अनुसन्धानमा संलग्न महानगरीय अपराध महाशाखाको डिएसपी दिपक रेग्मीले भने, ‘केही समयअघि रामेछापमा भएको आगलागी मुद्दामा भक्तपुरको ठिमीबाट पक्राउ परेर एक लाख पचास हजार धरौटीमा छुटेको प्रहरी रेकर्डमा भेटियो ।’
उनी आगलागीमा मात्र मुछिएका थिएनन्, मुक्तिनाथ संलग्न चोरिएको एउटा केस छलफलमा मिलाइएको थियो ।
पानी फ्याक्ट्रिमा पनि आचरण ठीक नभएको कारण देखाएर उनलाई साहुले कामबाट निकालीदिए ।
रामेछापको ओख्रेनी स्थायी घर भएका मुक्तिनाथ भक्तपुरको बोडेमा बस्थे । ओख्रेनीको विश्वकर्मा परिवारले बोडेमा सानो घर बनाएको थियो । दलित परिवारमा जन्मेका मुक्तिनाथ आफूलाई लामिछाने भनेर चिनाउँथे ।
छोटो समयमै पानी फ्याक्ट्रिको जागिरबाट हात धुनुपरेपछि मुक्तिनाथ बोडेस्थित घरमै गएर बस्न थाले ।
यता एलिसासँग फोन र जाउ–आउ चलि नै राख्यो । मुक्तिनाथ फुर्सदिलो थिए, एलिसा समय मिलाउथिइन्, पाँच महिनाको बीचमा उनीहरू कम्तीमा तीन पटक फिल्म हेर्न पुगेका थिए । त्यतिन्जेल मुक्तिनाथ सोच्थे, ‘एलिसा मेरी भइसकिन् ।’
यहिँनेर मुक्तिनाथले सोचेको कुरा गलत हुन पुग्यो । एलिसा उनको भइसकेकी थिइनन् । अर्का युवा श्याम श्रेष्ठसँग उनको नयाँ प्रेम सुरु भएको थियो । गएको दसैँ अगाडि श्याम र एलिसाको नयाँ सम्बन्ध मुक्तिनाथले थाहा पाए । त्यसपछि सुरु भएको प्रेम–पीडाले उनको मुटु घोच्न थाल्यो ।
‘आफूले पैसासमेत दिने गरेको केटी अर्कैसँग लागेका कुरा मुक्तिनाथ असह्य भएको देखिन्छ’ । डिएसपी रेग्मी भन्छन्– ‘गएको कात्तिक १२ गते एलिसाले विदेश जाँदैछु भेट्न आउँछ’ भनेर केटालाई चाबहिल बोलाएकी थिइन्, त्यही दिन उनको हत्या भयो !’
एलिसाले ‘कस्तो खाते होला’ भनेपछि हत्या !
कात्तिक १२, २०७३
समय : बिहान ९ बजे
स्थान : चाबहिल
त्यो बिहान एलिसा र मुक्तिले सँगै चिया पिउन थाले । चियाको चुस्किसँगै एलिसाले भनिन्, ‘अब विदेश जाँदैछु ।’
उनको नयाँ केटा साथीबारे चाल पाइसकेका मुक्तिनाथले त्यो कुरा पनि कोट्याए । एलिसाले निर्धक्क स्वीकारिन् । ‘हो, म श्यामसँग लभ गर्छु !’
त्यसपछि मुक्तिनाथले एलिसासँग आफूले दिएको ५५ हजार फिर्ता गरेर मात्र सम्बन्ध तोड्न आग्रह गर्न थाले । ‘पैसाको सवालमा चिया पसलमै निकै विवाद भएको देखिन्छ’ डिएसपी रेग्मी भन्छन्, ‘एलिसाले अर्को ब्वाइफ्रेन्डको पनि पैसा चलाएको कुरा सेयर गरेको देखिन्छ ।’
‘विदेशबाट फर्केपछि पहिले मेरो ब्वाइफ्रेन्डको पैसा तिर्छु, त्यसपछि तिम्रो पैसा तिरौँला बरु कुरा गर्नुपर्छ भने घरमा गएर तिम्रो आमासँग कुरा गर्छु’ भन्दै एलिसा कड्किएपछि मुक्तिनाथ उनलाई लिएर भक्तपुरको बोडे तिर हानिए । डेढ तले घरको माथिल्लो तलामा बूढी हजुरआमा एक्लै थिइन् । कान कम सुन्ने वृद्धाले नाती आएको र गएको मेसो पाइनन् ।
चिया पसलमा सामान्य विवाद भए पनि एलिसा त्यतिन्जेल उनको प्रेमिकाकै हैसियतमा थिइन् । उनले बेड रूपमा राखेर चिया बनाएर दिए । केही समयअघि चाबलिह चोकमा होटलको चिया पिउँदा सामान्य चर्काचर्की भएको थियो, घरमा चियाको सुर्कि तान्नासाथ विवादको पारो बिस्तारै माथी चढ्न थाल्यो । ‘त्यहाँ पनि पैसाकै विवादले प्रश्रय पाएको देखिन्छ’ डिएसपी रेग्मी भन्छन्, ‘कोठामा केटाले भन्दा धेरै केटिले मिस विहेभ गरेको खुल्न आएको छ ।’
उनीहरू बीच नयाँ प्रेमि श्याम श्रेष्ठको बारेमा पनि निकैबेर डिबेट भएको थियो ।
प्रहरीका अनुसार, ‘कस्तो खाते रहेछ, तेरो पैसा खाएर हिँड्छु ?’ भन्दै एलिसा कड्किएपछि मुक्तिनाथले चड्कन हान्न थाले । दुवैको बीचमा हात हालाहाल भयो । त्यसपछि मुक्तिनाथ बाहिर निस्किए, भर्याङमुनि राखिएको गुन्द्री बन्ने काठको हतासो बोकेर भित्र छिरेका उनले एलिसाको टाउकोमा प्रहार गर्न थाले ।
प्रहरीसँगको बयानका क्रममा मुक्तिनाथले हतासोको पहिलो चोटमै एलिसा ढलेको र त्यसपछि लगातार तीन पटक प्रहार गरेपछि उनले बेडरुममै प्राण त्यागेको स्वीकार गरेका छन् ।
यसअघि घटेका यस्ता प्रकृतिका अन्य घटनाहरू सेक्ससँग जोडिने भए पनि एलिसा हत्याकाण्ड सेक्सँग नजोडिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । ‘यो हत्या सेक्ससँग जोडिएको छैन, मुक्तिनाथ र एलिसाको बीचमा सामान्य चुम्बन बाहेक अन्य यौनजन्य क्रियाकला पोष्टमार्टम रिपोर्टमा पनि देखिएन्’ । डिएसपी रेग्मीले भने, ‘हत्याको मुख्य कारण केटाले दिएको ५५ हजारकै वरपर घुमेको देखिन्छ ।’
बोरामा लाश, जंगलमा कपडा
केहीबेर अघिसम्म प्रेमिकाको रूपमा झगडा गरिरहेकी एलिसा एकैछिनमा लाशमा परिणत भइन् । मुढो भइसकेको एलिसाको शरीरलाई उनले खाटको पछाडिको भागमा लुकाए । त्यसपछि रगत लागेको कार्पेट काटे, एलिसाको ज्याकेट, लेडिज ब्याग र जुत्ता एउटा बोरामा प्याक गरेर घरबाट निस्किए । घरबाट दुई किलोमिटर पूर्वतिर रहेको निरबाराहीको जंगलमा ती सामान फालेर फर्किए ।
जंगलमा कपडा फालेपछि भौतारिकएका मुक्तिनाथ निलबाराहीबाट मूलपानी हुँदै कोटेश्वर तिर लागे । एलिसाको मोबाइल उनैले बोकेका थिए । कोटेश्वर पुगेपछि एलिसाको बुवालाई एलिसाकै नम्बर ९८२३४७१५११ बाट फोन गरेर हिन्दी भाषमा भने, ‘छोरी चाहिए एक करोड पचास लाख लिएर आउनु ।’
कोटेश्वरबाट फेरि चाबलिह हुँदै उनी बोडे फर्किए । ‘एक करोड पचास लाख कुनै प्लानमा मागेको देखिँदैन’ डिएसपी रेग्मी भन्छन्, ‘हावादारी तालमा केटीको बुवालाई फोन गरेको देखिन्छ ।’
छोरीको मोबाइलबाट फोन गरेर मोटो रकम मागेपछि एलिसाको बुवामा बेचैनी बढ्यो । उनको दिदीसँगै बस्ने कान्छी छोरीलाई टेलिफोन गरेर ‘दिदी कहाँ गएकी हो ?’ भनेर सोधखोज गर्न थाले ।
साँझपख घर पुगेका मुक्तिनाथ अब शवलाई कसरी व्यवस्थापन गर्ने भन्नेतिर लागे । घरका सबैजना सुतेपछि राति दश बजेतिर शवलाई कुखुराको दाना हाल्ने प्लाष्टिको बोरामा प्याक गरे त्यसपछि बोडरुमबाट बाहिर निस्किए । ‘सँगैको कोठामा सुतेका बुवा आमा निदाए कि निदाएनन् भनेर सानो चेपबाट हेरेँ’ प्रहरीसँगको बयानमा उनले भनेका छन्, ‘त्यसपछि बोरामा प्याक गरेको एलिसालाई काँधमा हालेर घर नजिकैको झाडीमा लगेर फालिदिएँ ।’
घटनामा प्रयोग भएको हतासो प्रहरीले घर पछाडि फेला पारेको छ ।
अपराध लुकाउन पीडितकै सहयोगी बनेपछि…
मुक्तिनाथ एलिसा हत्याकाण्डमा आफूलाई कसैले शंका नगरोस् भन्नेमा चनाखो थिए ।
कात्तिक १२ गते सिन्धुपाल्चोकबाट एलिसाको बुवा काठमाडौँ आए । मुक्तिनाथसँगको प्रेम सम्बन्ध बारे जानकार पानी फ्याक्ट्रीमा काम गर्ने अर्कि एक युवतीले नम्बर पत्ता लगाएर मुक्तिनाथलाई फोन गरिन् । उनले एलिसा हराएको कुरा सुनाएपछि मुक्तिनाथले आश्चार्य मान्दै सोधे, ‘हो र ? हिजो मसँग चाबहिलमा एकैछिन भेट भएको थियो, उसको नयाँ केटा साथी छ रे, उसैलाई भेट्न जान्छ’ भन्दै हिँडेकी थिइन् ।’
मुक्तिनाथले ती युवतीलाई अर्को प्रस्ताव राख्दै भने, ‘एलिसा खोज्न म पनि आउँछु ।’
त्यसपछि मृतकको बुवा र बहिनीको साथ लागेर उनी महानगरीय अपराध महाशाखा टेकुमा एलिसा हराएको निवेदन दिन पुगे ।
प्रहरीले पहिले एलिसाको नयाँ केटा साथी श्यामलाई शंकको घेरामा राखेको थियो । एलिसाको शव नभेटुन्जेल प्रहरी चुपचाप नै थियो ।
एकदिन (२०७३ कात्तिक १६ गते) एलिसाको नम्बरबाट एउटा म्यासेज आयो, ‘बुवा म जहाँ छु खुसी छु, चिन्ता नलिनु !’ यस्तो म्यासेज आएपछि परिवारलाई लाग्यो ‘उनी जीवितै छिन् ।’
‘अनुसन्धानको क्रममा थाहा भयो, त्यो एसएमएस मुक्तिनाथले गरिदिएका रहेछन्’ डिएसपी रेग्मीले भने ।
महाशाखामा एलिसा हराएको निवेदन परेको सात दिनपछि (०७३ कात्तिक २०) मा प्रहरीलाई खबर आयो, ‘भक्तपुरको ठिमी नगरपालिका–२ स्थित मनहराखोलाबाट बोडेतर्फ जाने कच्चि सडक किनारामा बोरामा प्याक गरेको अवस्थामा अन्दाजी २५ वर्षीय महिलाको बेवारिसे लाश भेटियो !’
अपराध महाशाखको टोली घटनास्थलतर्फ दौडिए । काठमाडौँ उपत्यकामा हराएका मानिसहरू बारे परेको निवेदनको विवरण हेर्दा उक्त लाश एलिसाको हुनसक्ने प्रहरी अनुसन्धान सत्य सावित भयो । दुई दिनपछि परिवारले बोडेमा भेटिएको बेवारिसे शव ‘एलिसाको हो’ भनेर सनाखत गरिदिए ।
लाश भेटिएपछि प्रहरीसँग भाग्न खोज्दा…
पहिले निवेदन दिन आएका मुक्तिनाथ लामिछाने आफ्नो प्रेमिकाको शव भेटेपछि परिवार र प्रहरीसँग टाढा–टाढा हुन थाले । मोबाइल कहिले अफ कहिले अन गर्न थालेपछि अपराध महाशाखाले उनीमाथी शंकाको सुई घुमाइसकेको थियो ।
‘श्यामसँग कुनै सम्पर्क देखिँदैन थियो’ डिएसपी रेग्मी भन्छन्, ‘लाश भेटिएपछि मुक्तिनाथ सम्पर्कमा आउन छाडे, घरमा पनि कहिलेकाही मात्र जान थालेको सूचना आयो, त्यसपछि हामीले उसलाई शंकको घेरामा राखेर अनुसन्धान अगाडि बढायौँ ।’
त्यसपछि २०७३ कात्तिक २३ गते मुक्तिनाथलाई पक्राउ गर्न प्रहरी टोली भक्तपुरको च्याम्हासिंह पुग्यो । उनी फुपूदीदीको घरमा गएर बसेका थिए । आफूलाई घेरा हाल्न रातमा आएको प्रहरी आएको सुईंको पाएपछि उनले भाग्ने प्रयास गरे, अन्तत सकेनन् । प्रहरी उनलाई नियन्त्रणमा लिन सफल भयो ।
यसरी एउटा छोटो ‘प्रेम कहानी’ को दर्दनाक अवसान भयो
No comments:
Post a Comment