Wednesday, November 9, 2016
५ सय र एक हजार दरका भारु नोट कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन -
हरि लामिछाने, काठमाडौँ, २४ कात्तिक । भारतले मंगलबार रातिदेखि भारतीय रुपैयाँ (भारु) ५०० र एक हजार दरका नोट बजारमा चलाउन रोक लगाए पछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रा बजारमा पर्ने भएको छ ।
भारत सरकारको निर्णयले भारतसँग जोडिएका सीमा क्षेत्रका लाखौँ नेपाली नागरिक एवम् भारतमा रोजगारी गर्ने नेपालीमा त्यसको प्रत्यक्ष असर पर्नुका साथै नेपालमा रहेको अर्बौ भारतीय रुपैयाँको व्यवस्थापनमा चुनौती सिर्जना भएको हो ।
भारतसँग एक हजार ८ सय किलोमिटर खुला सीमा क्षेत्रमा बस्ने नेपालीसँग रहेका भारु नचल्ने भएका छन् । भारतसँग परम्परागतदेखि कारोबार भारतीय रुपैयाँमा नै हुने भएकाले त्यहाँका लाखौँ नेपाली नागरिकसँग अर्बौ रकम भएको अनुमान छ ।
त्यस क्षेत्रका नागरिकले दैनिक कारोबारका लागि राखेका भारु एक हजारदेखि लाखसम्म रह्यो भने पनि त्यसको ठूलो असर पर्छ । त्यसैगरी भारतले यही नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा साट्न सक्ने भने पनि त्यसका लागि राखिएको प्रावधान नेपालीका लागि जटिल हुने देखिएको छ । भारतले राहदानी र स्थायी लेखा नम्बर (प्यान)सहित उक्त दरका नोट साट्न सक्ने प्रावधानले नेपालीलाई नराम्रो असर पार्ने देखिएको छ ।
नेपाल राष्ट्र बैंकले आजै (बुधबार) निर्देशन जारी गरेर बैंक, वित्तीय संस्था एवम् मुद्रा सटही केन्द्रलाई उक्त दरका नोटको कारोबार नगर्न भनेको छ । त्यसैगरी भारतीय केन्द्रीय बैंकलाई नेपालमा रहेको भारुको व्यवस्थापनका विषयमा पत्राचार गर्ने निर्णय गरेको छ ।
त्यस्तै सुदूरपश्चिम र मध्यपश्चिममा लाखौँ नेपाली नागरिक भारतमा रोजगारीमा छन् । उनीहरुलाई पनि भारतको पछिल्लो निर्णयले ठूलो असर पुर्याउने भएको छ । सबै क्षेत्रमा त्यसको असर पर्ने नेपाल राष्ट्र बैंक विदेशी मुद्रा विनिमय तथा विश्लेषण महाशाखाका पूर्व निर्देशक कल्याणबन्धु अर्याल बताउँछन् ।
उनकाअनुसार सर्वसाधारण एवम् अनौपचारिक रुपमा कसैले भारतीय रुपैँया जम्मा गरेर राखेको भए ती सबै रुपैँया बेकाम हुने भयो । यसले पनि समग्र मुद्रा बजारमा असर पार्छ ।
नेपालका व्यापारी कसैले भारतीय मुद्रा ठूलो मात्रामा राखेको भए त्यसले समस्या निम्याउन सक्ने अर्यालको भनाइ छ । उनका अनुसार साधारणतया बलियो मुद्रामा कालो धन राख्ने भएकाले पनि भारतले गरेको अमौद्रिकीकरणको असर नेपालमा पर्छ ।
भारतीय मुद्रा अपरिवर्तीय भएकाले नेपाल र भुटानमा मात्र भारतीय मुद्रा चलन चल्तीमा छ । त्यसका लागि यी दुई मुलुकले भारतबाटै मुद्रा ल्याउँदै आएका थिए । नेपालमा पहिले रेलमार्फत ल्याइन्थ्यो भने अहिले हवाई जहाजबाट ल्याउने गरिएको छ ।
भारतीय कानुनले नेपालमा भारु ५०० र एक हजार दरका नोटको कारोबारमा सन् २००२ देखि प्रतिबन्ध लगाएको भए पनि सन् २०१५ पछि भारु २५ हजारसम्म उक्त दरका नोट ब्यावहारतः कारोबार गर्न पाउने व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलका अनुसार भारतीय सरकारले भारतीय पैसा नचलाउ भनेपछि नेपालमा उक्त दरका नोट पूर्णरुपमा प्रतिबद्ध हुन्छ । उनले नेपालको बैंकिङ् प्रणालीमा रहेका उक्त दरका नोटका विषयमा भने नेपाल राष्ट्र बैंक र सरकारले नै कूटनीतिक तवरले समाधान गर्नुपर्ने बताए ।
नेपाली बजारमा पर्ने असरलाई समाधान गर्ने विषयमा आजैदेखि राष्ट्र बैंकले छलफल सुरु गरेको भन्दै प्रवक्ता पौडेलले चाँडै भारतीय रिजर्भ बैंकलाई पत्राचार गरिने जानकारी दिए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गबार राष्ट्रको नाममा सम्बोधन गर्दै जाली नोटलाई निरुत्साहित गर्न भारु ५०० र एक हजारका नोट पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेका थिए ।
उनले सम्बोधनका क्रममा सर्वसाधारणले यही नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा आफूसँग भएका उक्त दरका नोट बैंक तथा हुलाकमार्फत जम्मा गर्न आग्रह गरेका छन् । बजारमा रहेको कालो धनलाई शुद्धीकरण गर्ने उद्देश्यले त्यस्तो गर्नुपरेको प्रधानमन्त्री मोदीको धारणा छ ।
सम्बोधनका क्रममा भारतका केन्द्रीय बैंकले चाँडै भारु ५०० र दुई हजारका नयाँ नोट बजारमा ल्याउने पनि जानकारी दिँदै उनले यसले मुलुकको अर्थतन्त्र सुदृढीकरण हुने बताए ।
सोही सम्बोधन अनुसार भारतका सबै बैंकका आजैदेखि एटिएम बन्द गरिएको छ भने सरकारी अस्पतालमा मात्र कारोबार गर्न दिइएको छ । यसले गर्दा विश्व मुद्रा बजारमा पनि असर पर्ने बताइएको छ ।
सीमा क्षेत्रमा असर
भारत सरकारले भारु ५०० र एक हजारको नोटको कारोवार बन्द गरेसँगै झापालगायत सीमा क्षेत्रका नेपाली नागरिक मारमा परेका छन् । सीमा क्षेत्रका होटल, पसल, सटही काउन्टर र सर्वसाधारणसँग रहेको भारु व्यवस्थापन गर्न कठिनाई भएको उनीहरुको गुनासो छ । झापाको पूर्वी नाका काँकडभिट्टा तथा मेचीनगर नगर क्षेत्रमा रहेका नेपाली नागरिक भारु ५०० र एक हजारका नोट जम्मा गर्न आज बिहानैदेखि दौडधुप गरिरहेका छन्
Subscribe to:
Post Comments (Atom)
a2
१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै
हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...
-
कार्तिक २५, ललितपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा राज्यबाट लिएको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ वटा घर बन्नसक्ने...
No comments:
Post a Comment