Friday, November 18, 2016

जसको पाखुराको सहारामा मेरो अस्तित्व झल्केको थियो । आज उसैका पाखुरा, हातखुट्टा निरीह बनेर लाम्पसार परेको थिए परदेशमा । धुरु धरु आँसु झार्न बाहेक केही गर्न सकिन ।`तरुणले भन्यो, बुवाको शव ल्याउने पैसा थिएन :: पुरा पढ्नुहोस् >>



दुईहप्ता जति भएको थियो तरुण क्लास नआएको । फोन गर्दा स्विच अफ भन्यो । धेरै प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । कता गयो होला यो मान्छे ? यत्रो दिनसम्म किन नआएको होला ? मनमा यस्तै यस्तै प्रश्नहरु उब्जिन्थे । म र तरुण क्लासमा सँगै बस्ने गर्थ्यौं । ११ कक्षामा छदाँ चिनजान भएको थियो उसँग ।


हामी बिचको समान्य चिनजान पछि मित्रतामा परिणत भएको थियो। क्लासमा हाम्रो मित्रताको सबैले प्रशंसा गर्थे। त्यसैले पनि होला साथीहरु र सरम्याडमले मलाई नै बारबार सोध्ने गर्थे, ’धेरै दिन भयो नि तरुण नआएको, बिरामी परेको छ कि क्या हो ?’


पढाइको मामिलामा ज्यादै सजग थियो । लगनशिल पनि उत्तिकै थियो तरुण । पक्कै पनि केही भएको हुनुपर्छ । बिरामी नै भयो कि । होइन भने, आउनुपर्ने क्लास त । अब यसरी मनमा कुरा खेलाउनु भन्दा, उसकै कोठामा जानु पर्यो भन्ने निर्णय गरे । तरुण बानेश्वरमा डेरा लिएर बस्थ्यो । उसको घर तानसेन,पाल्पा ।


’घरमा आर्थिक समस्या भएर बुवा रोजगारको शिलशिला मलेसिया जानूभाछ ! धेरै दु:ख छ यार, बुवालाई । अब मैले नै हो पढेर बुवाआमालाई सुख दिलाउने। त्यसैले मैले धेरै मिहिनेत र परिश्रम गर्नुपर्छ ।’ दुखेसो पोख्थ्यो ।
कहिले काहीँ । उसको कुराले ममा केही आँट आउथ्यो । हिम्मत थपिदिएको जस्तो महशुस हुन्थ्यो।


१ बजे क्लास सकिएपछि कुपोन्डोलबाट बानेश्वर जाने टेम्पो समाते। केही घरहरु छिचोल्दै, म उ डेरा बस्ने घरको मुलगेटमा पुगे । कोठा मै छ होला भन्ने मनसायले, सरासर उसको कोठा तिर लागे,पहिलो तल्लामा ।


त्यहाँ पुगेपछि बल्ल थाहा पाए, उ नभएको कुरा । कोठामा ताल्चा मारिएको थियो । निराश भए म । त्यहाँबाट फर्किनै लाग्दा सम्झिए, उसको कोठाको बगलमा डेरा लिएर बसेको केही विद्यार्थीहरुलाई । उनीहरुलाई थाहा हुनुपर्छ पक्कै।
एकजनालाई सोधे, ’तरुण कहाँ गाछ,थाह छ तिमीलाई ?’ उ त दुईहप्ता अघि नै हो घर गाको । केही अपर्झट काम पर्यो भन्दै थियो-उनले भने।
अन्तत: उसँग भेट नभएपछि म कोटेश्वरतिर लागे । जहाँ मेरो घर थियो । जहिले पनि सबै कुरा सेयर गर्ने मान्छे, एकाएक सम्पर्कबिहीन हुदाँ रिस उठ्छ नै । टाउको भारी भए जस्तो भएको थियो ।


’छोरा किन आज ढिला भयो त,घर आउन ?’ मम्मीले सोध्नुभयो । तरुणको कोठामा गएको कुरा सुनाएँ । तरुणको बारेमा भने । मम्मी पनि आश्चर्यचकित हुनुभयो, उ एकाएक थाहै नदिई घर गएको कुरा सुन्दा । तरुण बेला बेलामा मेरो घर आइरहन्थ्यो ।
उ एक्लै बस्ने कुरा थाहापाएपछि, मम्मीले ’खाना खान एतै आउ है तरुण खाना बनाउन अल्छी लाग्यो भने’ भन्नुहुन्थ्यो । बुवाले त झन्, ’तिमी मेरो कान्छो छोरा हौ ! केही समस्या पर्यो भने भन है। हामी छौ नि’ भन्नुहुन्थ्यो । धेरै माया पाएको थियो तरुणले, हाम्रो परिवारबाट।
अहो ! हप्ता चार भएछ तरुणसँग सम्पर्क हुन नसकेको । केही त पक्कै भएको हुनुपर्छ घरमा । शंका लाग्यो मलाई । संयोगले भन्नुपर्छ, एकदिन उसको फोन लाग्यो । यताबाट हेलो भन्छु, उताबाट उसले प्रतिक्रिया जनाएन । होइन के भएछ यो मान्छेलाई। म अचम्मित भए ।
"तरुण, ठीक त छस् नि त" मैले फोनमा सोधेँ "किन थाहै नदिई घर गाको?"
उ केही भन्न खोज्दैथियो । तर उ एक्कासी डाको छाडेर रुन थाल्यो । मैले बार बार सोध्दा पनि उसले केही भन्न सकिरहेको थिएन । मले बुझ्न पनि सकिन । उसको रोदनले गर्दा मन भारी भयो । उ अझै रोइरहेको थियो । यस्तो अवस्थामा कुरा गर्न उचित लागेन । फोन काटे ।
खाना खाने समय भयो घरमा । मम्मीले खाना लगाउँदै हुनुहुन्थयो । बुवा मम्मी दुवै भएको मौकामा, तरुण फोनमा रोएको कुरा सुनाएँ । नराम्रो मान्नुभयो तरुण रोएको कुरा थाहा पाउँदा । आखीरमा हाम्रो परिवारको सदस्य शरह न थ्यो जो । खाना पनि धेरै रुचेन । खाना खाइवरि, बस्दै थियौ बैठक कोठामा।
"तरुणको नं दे त " बुबाले भन्नुभयो ।
"९८४३७....." उसको नं भनिदिएँ ।
कोठा भित्र नेट्वर्क राम्रो सङ्ग नटिप्ने हुनाले बुबा बाहिर बार्दलीमा निस्कनु भयो । गएको केही छिन् मै बुबा फर्कनु भयो।सायद फोन लागेन होला, मैले सोचेँ ।
"कुरा भयो त समीरको बुवा?" मम्मीले सोध्नुभयो।
केटो बोल्दै बोल्दैन । के छ भन्दा,बुवा सम्म शब्द निक्लेको सुने उसको मुख बाट।त्यसपछि,रुनथाल्यो।बुवाले भन्नूभयो ।
उसको बुवालाई केही भएछ,कि क्या हो मम्मी ?त्यसरी रुने मान्छ त पक्कै होइन त्यो।खोइ बाबू,बज्रपात परि आयो कि?बुझनै सकिएन राम्ररी।थाहा नपाएको कुरा,त्यसै भन्न पनि सकिन्न । मम्मीले प्रतिक्रिया जनाउनु भयो ।


°°°°°°°°°
परीक्षाको तयरीका लागि भनेर स्कुलले छुट्टी दिएको थियो,केही दिन।त्यहि दिनको सदुपयोग गर्ने शिलशिलामा,पढाइ गर्दै थिए । नोटिफिकेसन साउन्डले दिमाग मोबाइल तिर मोडियो । म्यासेज आएको रहेछ,तरुणको । उत्सुक भएँ उसको म्यासेज हेर्न । खोली हेरेँ ।
म कोठामा आएको छु । छिट्टै आउ है । भनेर लेखी पठाएको रहेछ । पढाई एकातिर छाडेर,चर्को घाम पार गर्दै म तरुण को कोठामा पुगेँ । कोठामा पुगेर,तरुण सङ्ग भेट हुनासाथ,उसले मलाई अङ्कमाल गर्यो ।


कोठा खाली खाली जस्तो थियो । प्याक गरेर राखिएका दुई तीनओटा ठूलाठूला जेब्रा ब्याग र तरुण मात्र थिए कोठामा।तरुण को अवस्था पनि एक्दमै करुणीय थियो । जिउ दुब्लाएर हब्बा थिएन । खौरिएको टाउकोमा, अलि अलि कपालका टुसा पलाएका थिए । आखीँ भौ पनि खौरिएको थियो । यो अवस्था देखेर, यतीसम्म ढुक्क भन्न सकिन्थ्यो कि, उसको बुवाले सायद यो ससांर छाडेर जानुभयो।
"कुरा के हो ? केही भयो कसैलाई?आखिर तैले यसरी कुरा लुकाएर के गर्छस ! सत्य के हो आज म जानेरै छाड्छु" मैले भने।
आखिर जे सुन्न चाहेको थिइन त्यहिँ सुन्नु पर्यो।
तरुण ले सुनाउन थाल्यो । मलाई माफ गरेस समीर ! मैले तलाई सम्झन सकिन त्यस क्षण जब मलाई जिन्दगीको लिला भोग्नु पर्दैथ्यो । क्लास सकेर आएपछि त घरतिर लागिस म आफ्नै कोठा तिर । कोठामा पुगेर विस्तारामा पल्टिन के लागेको थिएँ, विदेशबाट फोन आयो । सुरुमा त कसको हो, ठम्याउनै सकिन । पछि थाहा पाए, मलेसीयन नम्बर रहेछ । बुवाका साथीले गरेका । फोन उठाएँ ।


भाइ म चन्द्र अङ्कल बोलेको । जे नहुनपर्ने थियो त्यहि भयो । टेन्सन त हुन्छ नै, तर मन सम्हाल्ने प्रयास गर्नु बाबु । तिम्रा बाबा, अब यो ससांरमा बाँकी रहनुभएन । दुर्घटनामा परि उहाँको मृत्यु भयो । यो कुरा सुनेपछि केही बोल्नै सकिन । चक्कर आउला कि झै हुन थाल्यो । भावशुन्य भएँ । घटना हुनु भन्दाको अघिल्लो रात कुरा भएको थियो, आज एकाएक यस्तो भएको सुन्दा पत्यार लागेन।भ्रम मा छु कि जस्तो पनि लागेको थियो । तर सत्यलाई अस्वीकार गर्न सकिएन । सत्यता भ्रम थिएन।


चन्द्र अङ्कलले पैसा छ कि भनेर पनि सोधेका थिएँ । बुवाको शव पठाउन । तत्काल पैसा नभएको र कतैबाट जोहो गर्न पनि अप्ठ्यारो रहेको जानकारी गराए । सम्पत्ति भन्नु नै, त्यहि सानो घर न थियो । तत्काल जुटाउन गार्है थियो । बुवाको शव पनि ल्याउनु पर्ने थियो ।
अन्तत:उनले उतैका संघसंस्थाहरुबाट चन्दा संकलन गरेर भए पनि छिट्टै शव पठाउने आश्वासन दिए । कहिल्यै पनि सोचेको थिएन यस्तो अवस्था आउला भनेर । जसको पाखुराको सहारामा मेरो अस्तित्व झल्केको थियो । आज उसैका पाखुरा, हातखुट्टा निरीह बनेर लाम्पसार परेको थिए परदेशमा । धुरु धरु आँसु झार्न बाहेक केही गर्न सकिन ।
आमा उता एक्लै हुनुहुन्थ्यो घरमा । आमालाई यो खबर तत्काल सुनाउन चाहिन । नाईट बस समातेर पाल्पा लागेँ त्यो दिन । बिहान ८ बजे को सेरोफेरोमा घर पुगे । घर पुग्दा, मान्छेहरु जम्मा भएका थिए घरवरिपरी । घरमा पनि थाहा भैसकेछ भन्ने भयो मलाई ।
त्यहाँ जम्मा भएका मान्छे भावुक थिए । महिलाहरुले त आफ्नो आँखा मा छचल्किएका आँसु साडिको फेरले पुछ्दै थिए । म घरको आगँन मा पुग्दा सबै मौन थिए । कोही केही बोलेनन् । बस एकतमास सित हेरिरहेका थिए, दु:खको भावले।


वरिपरीको भिडलाई पार गर्दै,म घर भित्र छिरे । भित्र के छिरेको थियो, त्यहाँ अच्चमको दृश्य देख्न पुगे । जसको मुहार हेरेर म बाकीँ जीवन कटाउने सोचमा थिए । त्यही अनुहारलाई पासोमा झुन्डिएको देख्न पुगेँ । बुवा को मृत्युको खबर सुनेर, आत्महत्या गर्नु भएछ आमाले ।
सायद म त्यस समय घरमै भाको भए, त्यस्तो घटना हुँदैन थियो होला । सम्झाउने कोही नभएर हो जस्तो लाग्यो। शरीर पुरै शिथिल भयो । ललालुलु भए । म त्यहीँ बेहोस भएछु । केही समयपछि होस खुल्यो।


आमाको किरिया बसेँ । बुवाको शव पनि एकहप्तापछि घरमै आइपुग्यो । सबै काजकिरिया सकेर, म यहाँ आएको सरसामान लिन । अब घरको जिम्मेवारी मै माथि थपियो । उतै पढाइ गर्छु, सकेको जति । पछि कतै काममा लाग्नुपर्ला । मेरो अत्तोपत्तो नहुदाँ, तिमी रिसायौँ होला भन्ने लागेको थियो । त्यसैले यता आएको बेला तिमीलाई भेटौँ भनेर बोलाएको थिए । तरुणले भन्यो।
भित्र भित्र म पनि रोइरहेको थिए । तर उसका अगाडि आँसु झार्न उपयुक्त मानिन । म उसको अगाडि रोएको भए उ, झन कम्जोर हुन्थ्यो । उसलाई सम्झाए । चिन्ता लिन हुन्न पनि भने, जो सम्भव थिएन तरुणलाई । किनभने एकै समय ठूलो बज्रपात आइपरेको थियो उसको जीवनमा । तरुणलाई बिदाई को भावले हात हल्लाउँदै म घरतिर लागेँ । घर आएर सबै कुरा सुनाउदाँ, मम्मीको आँखामा पनि प्रष्ट आँसु देखिन्थे।


°°°°°°°°°
मेरो परीक्षा पनि सुरु भयो । एक हप्ता पछि परीक्षा सकियो । राम्रै भएको थियो । परीक्षा सकिएको दिन, चैनसँग आराम गरिरहेको थिएँ । बुवाले बोलाउनु भयो बैठक कोठामा । छुट्टि कति दिन छ भनेर सोध्नुभयो । १५ दिन छुट्टी भएको जानकारी गराएँ।
"ल त्यसो भए तयार हुनु भोलिका लागि, हामी पाल्पा जाँदै छौ" बुवाले भन्नुभयो।
"किन बुवा?"
"कान्छो छोरोलाई लिन ! अब तरुण हामीसँगै बस्छ" बुवाले भन्नुभयो।
अर्को दिन बिहानै,हामी पाल्पा तिर लाग्यौँ ।

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...